Nepali Literature

 By Rajesh Budathoki
रुपा नामले मात्र होइन वास्तविक रुपमा नै निकै राम्री थिई । काली–काली
हिस्सी परेकी, सलक्क परेको जिउडाल र यौवनले भरिपूर्ण शरीर भएकै कारणले
होला गाउँका सम्पूर्ण युवकहरु रुपा भनेपछि मरिहत्ते गर्ने गर्दथे ।
रुपालाई आर्कषित गर्नका लागि मञ्चित नाटकहरु हेर्न निक्कै रोमाञ्चकारी
हुने गर्दथ्यो । उनिहरुले रुपालाई लोभ्याउनका लागि गरको सहयोग सबै नक्कली
लाग्दथ्यो । रुपा आफैंलाई पनि आफ्नो सौन्दर्यतामा गर्व थियो । छिन्–छिनमा
ऊ ऐनाको अगाडि बस्ने गर्दथी । ऐनामा आफ्ना सम्पूर्ण सुन्दर शरीर
धीतमरुञ्जेल नियाल्दा एकप्रकारको लज्जाको अनुभूति हुने गर्दथ्यो, हाँसोका
विम्बहरु उतार्ने गर्दथी ।

झन् क्याम्पस आउँदा–जादाँका पलहरु निकै अविष्मरणीय हुने गर्दथ्यो ।
बाटामा क्याम्पसे केटाहरुले जिस्काउने गर्दथे । रुपा त्यसको मौन समर्थन
गर्ने गर्दथी । कति पनि प्रतिकार गर्दिनथी । लज्जालु मुस्कान छाडेर
निरुत्तर बनेर हिँड्दा ती केटाहरुले एकप्रकारको समर्थन पाएको सम्झन्थे ।
घर आईपुगेपछि ऊ बाटो भरिका रमाइला पलहरु सम्झेर मुस्कुराउने गर्दथी ।
उसलाई सधैं त्यहि बाटो नै प्यारो लाग्दथ्यो । ऊ त्यो बाटोलाई एकप्रकारको
प्रेम गर्दथी अथवा भनौं त्यो बाटो दिनमा एक दिन नहिँडी चित्तै बुझ्दैन
थियो ।

अरुणसँग उसको नजिकको सम्बन्ध छ । उसले अरुणलाई भाइ मानेकी मानेकी छे ।
प्रत्येक भाइटीकामा अरुणको निधार रङ्गिने गर्दथे उसका हातहरुबाट । सायद
आफ्ना दाजुभाइ नभएकैले होला निकै प्रेम गर्दथी ऊ अरुणलाई । अरुण उसको घर
पटक–पटक जाने गर्दथ्यो । यी दुई एकदिन नदेख्दा नै छट्पटिन पुग्थें ।
प्रत्येक दिन र रातहरु सँगै हुने गर्दथे । हाँसी–मज्जाक गर्दा गर्दै
समयले नेटो काटेको पत्तै हुदैन थियो ।

अरुण पनि उसलाई निकै प्रेम गर्ने गर्छ । सधै उसको छत्रछायाँमा बस्न
रुचाउँछ । प्रत्येक पल अरुण उसको सुन्दरताको खुलेर प्रशंसा गर्ने गर्दछ ।
सायद यहि कारणले होला रुपालाई अरुण निकै प्यारो लाग्ने गर्दछ । क्याम्पस
जान लाग्दा रुपालाई अरुण नभई हुदैन । ऊ अरुणले ‘राम्रो देखिएको छ !’
नभनेसम्म घरबाट बाहिर निस्किदैनथी ।

रुपालाई आफू बन्धनमा बाँधिएको छु जस्तो लाग्थ्यो । प्रत्येक समय आफूलाई
ठूला–ठूला पर्खालहरुकाबीच कैदमा पारिएको अनुभूत गर्ने गर्दथी । आफूलाई
घरमा पिँजडामा राखेर थुनिएको सुगाझैँ सम्झिन्थी । क्याम्पस समयबाहेक
उसलाई घरको चौघेराभन्दा बाहिर जान छुट थिएन । ऊ आफु सँगैका साथीहरु
आफूभन्दा निकै स्वतन्त्र भएको ठान्दथी । आफ्ना साथीहरुलाई जहाँ पनि जान
छुट भएको तर आफुलाई कहिँ जान पनि छुट नभएको भनेर आत्मालोचित हुने गर्दथी
। यसैकारणले होला ऊ आफ्ना रहरलाग्दा सम्पूर्ण इच्छाहरु दबाएर राख्ने
गर्दथी । क्याम्पस पार्कहरुमा प्रेमीप्रेमिकाहरु अँगालोमा बाँधिएर
प्रेमकर्म गरेको देख्दा इर्ष्या लाग्ने गर्दथ्यो उसलाई । एक मनमा त
आफूलाई प्रेम गर्ने प्रेमी खोजु जस्तो लाग्ने गर्दथ्यो तर डराउने गर्दथी
त्यसबाट उब्जने परिस्थितिहरुसँग ।

०००
रुपाकी आमा मेनुकाका दिनहरु सधैं फुर्सदिला भएर बित्ने गर्दथे । आफ्नो
श्रीमान् विदेशमा भएका कारण खर्चका लागि अरु कहाँ धाउनुपर्दैन थियो । उनि
गाउँकै गन्यमान्य पार्टीको सक्रिय कार्यकर्ता थिइन् । उनलाई जहिल्यैं
बिहान ६ बजे चिया पसलमा बसेर पार्टीका लगायतका कुराहरु गर्न अभ्यस्त
हुन्थ्यो । थोर–बहुत राजनीतिबारे प्रशिक्षित भएकी उनि आफूलाई सभ्य र
अरुलाई असभ्य भन्ने बानीले गाउँका दिग्गजहरुले मनपराउँदैनथे । एक्लो हठ
गर्ने बानीले गर्दा गाउँका शिक्षित महिलाहरु उनकोको अज्ञनता देखेर मनमनै
खिल्ली उडाउँथे । उनी आफैलाई पनि विना जानकार प्याच्च बोल्ने बानीले धेरै
चोटी लज्जित बनाएको थियो । आफ्ना कमजोरीहरु पत्ता लगाई चिया पसलमा बसेर
गफिएको देख्दा गाउँका महिलाहरुले ‘कुरा काट्ने आईमाई’को पगरी लगाईदिएका
थिए।

रुपालाई निकै कडाई गर्थिन् उनि । उनि छोरीहरु स्वतन्त्र भए बेइज्जती
बाहेक केही हुँदैन, । उनिहरुलाई आत्मनिर्णय अधिकार दिनुहुँदैन लगायतका
सोचाई राख्ने गर्थिन् । छोरीले गरेका हरेक कुराहरुमा बन्देज लागाउँथिन् ।
गाउँमा सानै उमेरमा आफु खुसी बिवाह गर्ने लहड चलेको थियो । यस्तै
विषयप्रति असान्दर्भिक रुपमा उनि छोरीलाई सजग गराई राख्ने गर्थिन्,
“फलानो जस्तो गरी पोइला हिँडिस् भने तेरो के हुन्छ थाहा पाउनेछेस् तैँले
!”
०००

०००
भुँइमा तासहरु असरल्ल छरिएका थिए । मेनुका आफ्ना साथीहरुसँग तास खेल्नमा
अभ्यस्त थिइन् । साथीहरु चाहिँ छिमेकीका बारेमा कुरा गर्दै थिए । उनि भने
घरेलु मदिराको चुस्की लिँदै तुरुन्तै प्रतिक्रिया जनाई हाल्थीन्, “हैन,
मान्छेको कसरी मन बद्लिन्छ हँ । एकजनासँग बिहे गरेर जीवन सुम्पिदिई
सकेपछि फेरी अर्कोसँग किन जीवन सुम्पिदै पोइला जानु ? यो आईमाईको जात त !
....फेरी त्यो वीरले किन बुढी आईमाईलाई बिहे गरेको होला ? मोराले अरु
केटी देखेन !” उनका कुरामाथि अरुहरुले हो मा हो मिलाउँथे ।
“तिमीहरुलाई थाहा छ आज कान्छी त पोइला गइछ । भर्खर १५ वर्ष के लागेकी थिई
! के हतारो परेको त्यसलाई ! फेरी आफूभन्दा डबल उमेरको आर्मीसँग !”
“के–के सुन्नुपर्छ यो कानले ? हैन त्यसले आर्मी जस्तो बोकालाई छान्नुपर्छ
? तालपरे सय वटा बिहे गर्छन यी आर्मी बोकाहरु । ठिक्क पर्यो त्यसलाई !
अस्ती मसँग मुखमुखे लाग्दै थिई वेश्या ! ।”
“जवान छोरीलाई ठेगानमा नराख्दा यस्तै हुन्छ । लखर–लखर चारैतीर कुदी
हिँड्थी । छोरी होस् तपाईकी जस्तो !” आफ्नो छोरीको प्रशंसा गरेकोमा
मेनुकालाई गर्वको महसुस भयो ।

रुपा खाटमा बसेर आफ्ना आमाको कुरा सुनिरहेकी थिई । उसलाई भित्रभित्रै डर
लागिरहेको थियो आफुबाट कहित्यै त्यस्तो प्रकारको कार्य नहोस् भनेर । हात
खुट्टाहरु मन्द–मन्द गतिमा कापिरहेका थिए, आफु दोषी ठहरिने डरले । मनमा
चिसो परिरहेको थियो ।
अकस्मात् रुपाले वाक्–वाकी गरी । मेनुका साथीहरु तीनछक्क परे । मेनुकालाई
शंका लाग्यो । मनमा डर–डरको अनुभूति गरायो उसलाई । रुपा भने बाहिर गएर आई

“ए ! के भो तलाई”
“केही भा’को छैन मम्मी !”
“केही भा’को छैन भन्छस् । म थाहा पाउँदिन ?” मेनुकाले छोरीको मन तौलिन
खोजिन् । रुपा चुप लागेर बसिरही । डराए जस्तो गरी । टाउँको निहुराई ।
अनुहारमा हेर्न सकिन । टाउँको निहुँरिई रहिँ ।
छोरी यसरी निँहुरिएको देखेर मेनुका जोडले कराइन्, “कसले गर्यो यस्तो तलाई
। भन् न कोसँग सुतिस् ?” मेनुकाले शंका गर्दै अँध्यारोमा जाल हालिन् ।
रुपाका सम्पूर्ण शरीर डरले काम्न थाले । सुकुसुकाउँदै रहि । मेनुकाको
रिसले कन्पारो तातिएर आयो । आफूले गरेको शंका वास्तविक हुन लाग्दै थियो ।
सहन सकिनन् । अनायासै रुपामाथि हातहरु बजार्न थालिन् ।
“को हो त्यो ?”
“अरुण”
रुपाले अरुणको के उच्चारण गरेकी थिई । मेनुका छाँगाबाट खसेझैँ भईन् ।
सिमेन्टीमा बजारिएको जस्तो भयो । सोच्दै नसोचेको मानिसबाट यस्तो हुन्छ
भनेर सोचेकी थिइनन् । स्तब्ध भईन् । केही बोल्नै सकिनन् । सधैं केही न
केही बोलीराख्ने बोलक्कड मेनुका यतिखेर मौन थिइन् । साथीहरुले मौनताको
भङ्ग गर्दै आश्चर्यमा परिरहेका थिए । उनिहरु पनि मौन थिए ।
०००
ब्रेन्चमा तीन पात्रहरुलाई राखिएको छ मेनुका, रुपा अनि अरुण । वरिपरि
मान्छेहरु जम्मा भएका छन् । सबै एकअर्काका मुखामुख गर्दै कुरा गर्दै थिए
। कतिले ‘जोशमा होश गुमाएपछि यस्तै हुन्छ’ भन्दै थिए । मेनुकाका विरोधी
भनिनेहरु अनेक लाञ्छनाहरु लगाउँदै पालोको पैचो गर्दै थिए । रुपालाई
अरुणसँग जिम्मा लगाईदै थियो । मेनुका यस्तो दृश्य हेर्न सकिरहेकी थिइनन्
। केही गर्न नसक्ने गरी लाचार बनेर टाउको निहुँर्याएर सबै सुन्दै थिईन् ।